दाङ, २३ जेठ । दाङको राप्ती गाउँपालिकाका ३ कर्मचारी निलम्बित भएका छन् । जग्गा नापीका नाममा अवैध तरिकाले पैसा असुल गर्ने ३ कर्मचारी निलम्बित भएका हुन् ।
केही महिना अघि दाङ-देउखुरीको राप्ती गाउँपालिका-३, खुरुरियामा गाउँपालिकाबाट खटिएका नापीका कर्मचारीहरुले ऐलानी जग्गा नाप्दा स्थानीयबासीबाट ठुलो रकम असुल गरेको विषयमा राप्ती गाउँपालिकाले गठन गरेको छानबीन समितिले दोषी देखेपछि गाउँकार्यपालिकाको बैठकले भूमि शाखामा कार्यरत गाउँपालिकाकी सर्वेक्षक बबिता जिसी, अमिन हिक्मत साउथ र फिल्ड सहायक अमृत पुजालीलाई निलम्बनमा गरेको छ ।
जग्गा नापी गर्ने बाहानामा स्थानीय सँग अवैध पैसा असुलेको तथ्य बाहिर आएपछि गाउँपालिकाको सुशासन समितिका संयोजक देवप्रसाद चौधरीको संयोजकत्वमा गठित छानबिन समितिले विभिन्न चरणमा छानबिन गरी राप्ती गाउँपालिका गाउँकार्यपालिकामा प्रतिवेदन बुझाएपछि कार्यपालिका बैठकले रकम असुल गरेको प्रमाणित गर्दै ३ जना कर्मचारीहरूलाई निलम्बन गरेको राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीले जानकारी दिनुभएको छ ॥
