घरघरमा, मनमनमा प्रजातन्त्रको उपलव्धि

सविन प्रियासन
प्रजातन्त्र अर्थात जनताको तन्त्र, जनताको व्यवस्था । नेपालमा जहानिया राणा शासनको अन्त्य भएको दिन, आज फागुण ७ गतेलाई हरेक वर्ष प्रजातन्त्र दिवसकारुपमा मनाउने गरिन्छ । जनतालाई एकचरणको निरंकुशता आजकै दिन २००७ सालमा तोडेका थिए । त्यसपछि पनि विभिन्न नामको निरंकुशताबाट जनता शाषित हुनु प¥यो । प्रजातन्त्र प्राप्तीकै जगमा टेकेर २०६२÷०६३ मा जनताले प्रजातान्त्रिक व्यवस्था भन्दा पनि उच्चकोटीको व्यवस्था गणतन्त्र प्राप्त गरे । २००७ सालमा प्रजातन्त्रको उदय नभैदिएको भए नेपालमा गणतन्त्रात्मक व्यवस्था आउन अझै धेरै समय लाग्ने थियो ।

जेहोस्, मुलुक यतिबेला जनताले शासण गर्ने विश्वकै सबै भन्दा उत्तम व्यवस्थामा छ । तर विभिन्न कारणले अहिले पनि गणतन्त्रले जनताको जनजिविकालाई प्रभावकारीरुपमा सम्बोधन गर्न सकेको छैन । यसको कारण हो व्यवस्थामा आमूल परिवर्तन भयो तर व्यवस्थालाई हाँक्ने नेतृत्वहरुमा पुरानै सोँच अनि जनतामारा क्रियाक्लापहरुलाई अगाडी बढाउने योजना छ । यस अर्थ पनि अब सबैले जनताले चाहेको जस्तो समाज निर्माण गर्नका लागि भूमिका खेल्नैपर्ने समय आएको छ ।

जनताको जनजिविकालाई उच्चस्तरको बनाउनका लागि सबै राजनीतिक दल, नेताहरु र राज्य संयन्त्रमा बसेका सबैले अब आफ्नो कामकारबाहीलाई निष्पक्ष बनाउन अग्रसरता देखाउनुपर्छ । स्वार्थ भन्दा माथि उठेर काम गर्ने सवालमा सबैले भूमिका निर्वाह गर्ने हो भने समाजमा रहेका सबै खाले समस्याको निराकरण हुनेछ । स्वार्थनै अहिलेको सबै भन्दा ठूलो दुश्मन हो । यसले समाज अनि मुलुकलाई नै धमिरा सरह खाइरहेको छ । स्वार्थ भन्दा माथि उठ्ने सवालमा सबैले संकल्प गर्नुपर्छ ।

यतिबेला मुलुक आर्थिक संकटको मारमा छ । जनता निराश छन् । प्रजातन्त्र स्थापना भएको आजकै दिनमा अब फेरि मुलुकमा देखा परिरहेको संकट अनि निराशालाई चिर्नका लागि राजनीतिक नेतृत्वहरुले दृढ संकल्प गरेर आफ्नो कार्यहरुलाई अगाडी बढाउन जरुरी छ । जनतामा उत्साह थप्ने दायित्व पनि राजनीतिक नेतृत्वकै हो । जनतामा छाएको निराशा पनि राजनीतिक नेृत्वहरुकै अदुरदर्शीताले आएको हो ।

तसर्थ मुलुकलाई संकटबाट पार लगाउनका लागि अब राजनीतिक नेतृत्वहरुले स्वार्थ केन्द्रीत मनोभावलाई पूर्णरुपले तिलाञ्जली दिनुपर्छ । देश र जनताको हितमा काम नगर्दासम्म निदै नलाग्ने, निदाएपछि पनि सपनामा देश र जनता भन्दा अरु नदेख्ने नेता अनि नेतृत्वले मुलुकलाई समृद्ध बनाउन सक्छ । समृद्धि र विकासलाई मियो बनाउँन अग्रसर हुने अठोट आजको दिनले सबैलाई दिन सकोस् । शुभकामना ।