भालुवाङ, फागुन । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको प्रथम साधारणसभा तथा प्रदेश भेला शनिबार मसुरियामा सम्पन्न भएको छ । साधारण सभामा बोल्ने वक्ताहरुले पत्रकारिताको मर्यादा बचाउन सम्पूर्ण पत्रकारहरु लाग्नुपर्ने कुरामा जोड दिएका छन् ।
मुलुकको परिवर्तनमा भूमिका खेलेको सञ्चार क्षेत्रले दिन प्रतिदिन मर्यादा गुमाउँदै गएकोमा चिन्ता व्यक्त गर्दै वक्ताहरुले यस विषयमा समयमै सोच्नुपर्ने बताएका हुन् ।
साधारण सभामा प्रमुख अतिथिको आशनबाट बोल्दै नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले सत्य, तथ्य र निश्पक्ष समाचार सम्प्रेषण गर्ने जिम्मेवारी प्रेस चौतारीका सदस्यहरुको काँधमा आइपरेको बताउनुभयो । पत्रकार महासंघमा श्रमजीविका मुद्दा, पेशागत दक्षताका मुद्दा अटाउन छाडेको तर्फ इंगीत गर्दै थापाले प्रेस चौतारीले यस विषयमा भूमिका खेल्नुपर्ने बताउनुभयो ।
पत्रकार महासंघमा गठबन्धनका कारण जित्नेले हार्ने र हार्नुपर्नेले जित्ने परिपाटी सुरुवात भएको र यो प्रवृत्ति गलत भएको बताउनु भयो । ‘दृष्टिकोण बनाउदा संगठनलाई केन्द्रमा राख्नुपर्छ’उहाँले भन्नुभयो,‘संगठनलाई सहि नीति, एजेन्डाले सबैभन्दा बढी सक्रिय बनाउछ । यसमा चौतारीले भूमिका बढाउनुपर्छ ।’ उक्त अवसरमा बोल्दै प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले नयाँ पुस्तालाई संगठित गर्नुपर्ने, पत्रकार महासंघमा नेतृत्व स्थापीत गर्ने सवालमा चौतारीले भूमिका खेल्ने बताउनु भयो । कार्यक्रममा बोल्दै उपाध्यक्ष सविन प्रियासनले प्रदेश सरकारले प्रदेश सञ्चार परिषद्लाई भूमिका दिन नसकेकोप्रति गुनासो गर्दै दवाव सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो ।
प्रेस चौतारीको सहभागिता नेपाल पत्रकार महासंघमा नभएकै कारण नेपालको सञ्चार क्षेत्र कम्जोर भएको बताउँदै आउँदै गरेको पत्रकार महासंघको निर्वाचनमा सम्मानजनक तवरले सहमति गरेर नेपालको पत्रकारितालाई बलियो बनाउन सबैले भूमिका खेल्नुपर्ने प्रियासनको तर्क थियो ।
चौतारीका महासचिव हिरामन लामाले संगठन निर्माण, विस्तार र सुदृढिकरणका लागि व्यक्तिवादी सिद्धान्त हावी हुन नहुने, सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमा ध्यान दिनुपर्ने बताउनु भयो । प्रदेश अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा भएको साधारण सभामा नेकपा (एमाले) प्रदेश सचिव लक्ष्मण आचार्यले प्रेस चौतारीले सधैभरी समृद्धिमा भूमिका खेलिरहेको बताउँदै चौतारीको योगदान पार्टीका लागि धेरै भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले प्रेस चौतारी एमालेको सबै जनवर्गीय संगठन भन्दा अव्वल भएकोमा प्रशंसा गर्नुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव प्रदिप आचार्य , लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे, प्रेस चौतारी लुम्बिनी ईञ्चार्ज मोहन चापागाईँ, प्रेस चौतारी लुम्बिनी प्रदेशका सल्लाहकार भरत केसी, लुम्बिनी प्रदेश सञ्चार परिषद संयोजक मिलन गाहा, संसदीय मामिला पत्रकारका अध्यक्ष घनश्याम गौतम, प्रदेश सहइञ्चार्ज टीका बस्नेतलगायतका वक्ताहरुले परिवर्तनलाई संस्थागत गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले जनसरोकारको सवालमा कतिबद्ध भएर भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
प्रेस चौतारी लुम्बिनी प्रदेशका उपाध्यक्ष दशरथ घिमिरेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा महासचिव निरु गौतमले प्रगति, कोषाध्यक्ष ओपेन्द्र बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैबीच प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको बन्द शत्रले ७ बुँदे दाङ घोषणापत्र जारी गरेको छ । प्रेस चौतारीले सञ्चार क्षेत्रको सबलिकरणका लागि तीनै तहको सरकारलाई विशेष योजना बनाउन माग गरेको छ । यसैगरी लोक कल्याणकारी विज्ञापनलाई बढाउन पनि माग गरिएको छ ।
