सहकार्यका नाममा ठगी, न्यायको माग

दाङ,२३ पुस । जग्गा खरिदमा सहकार्यका नाममा घोराही–१७ निवासी ऋषि पौडेलले ठगी गरेको भन्दै सहकर्मीले न्यायको माग गरेका छन् । बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी चित्र घर्ती, विष्णु कालाथोकी, सन्तोष रेग्मी, चिरन्जीवी रिजालbलगायतले जग्गा खरिदमा सहकार्य गर्दा लगेको करिव एक करोड २५ लाख रुपैया पाउनुपर्ने भएपनि पौडेलले अनेक बाहना गर्दै टार्ने गरेको बताएका हुन ।

छ बर्षअघि घोराही–१७ भैसाहीमा जग्गा खरिद गर्ने सहमति अनुसार मेघप्रसाद रेग्मीसँग ४३ लाख ५० हजार, बिष्णुप्रसाद रिजालसँग ५० लाख, सन्तोष रेग्मी र चिरन्जीवि रिजालसँग १५÷१५ लाख, बिष्णु कालाथोकीसँग पाँच लाख लगेको त्यसमध्येमा बिष्णुप्रसाद रिजाललाई केही पैसा फिर्ता गरेपनि अझै एक करोड २५ लाख बराबरको पैसा फिर्ता नगरेको पत्रकार सम्मेलनमा चित्र घर्तीले बताए । ‘छ बर्षअघि भैसाहीमा स्थानीय किसानको जग्गा खरिदका लागि सहमतिमा पटक पटक गरेर पौडेललाई हामीले पैसा दिएका थियौ’,पत्रकार सम्मेलनमा उनले भने,‘सहमति अनुसार नै उनको नाममा दश कट्ठा जग्गा पनि राख्यौ । पछि जग्गा मिलाऔभन्दा हुन्छ,हुन्छ भन्दै टार्दै आएका छन ।’

सहकार्यमा किनेको जग्गा मिलाउँदा नमान्ने तर अन्तिममा उक्त जग्गा आमाको नाममा पास गरेको थाहा पाएपछि आफुहरु ठगिएको महसुस गर्दै न्यायका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएको विष्णु घर्तीले बताइन । त्यसक्रममा पौडेलले कतिपयलाई पैसा फिर्ता गरिसकेको छु भन्नेदेखि जग्गा खरिदका लागि गरेका सहमति गरेका लिखित कागजात माग्दा मृतक मेघप्रसाद रेग्मी र विदेश गएका बिष्णु रिजालले लगेको भन्दै टार्न खोज्ने गरेको बताइन ।