रातभरि धर्ना दिएका मोही पीडित किसानहरुको सडकमै बिरोध जारी

घोराही, । मोहीयानी हक अधिकार प्राप्तीका लागि स्वर्गद्धारी गुठी पीडित मोही किसान संघर्ष समिति दाङ देउखुरीले
घोराहीमा जिल्ला प्रशासन कार्यालय अगाडी रातभरि धर्ना दिएका छन् । यसको साथै बुधबार विहानैदेखि प्रशासन अगाडी सडकमै बसेर थाल ठटाउनेदेखि धर्ना कार्यक्रम गरिरहेका छन् । मंगलबार देखि सुरु भएको धर्ना कार्यक्रम फागुण ११ गतेसम्म जारी रहनेछ छ । त्यसपछि किसानहरुको आन्दोलन प्रदेश सरकार अनि केन्द्रीय सरकारसम्म पुग्नेछ ।

संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीको नेतृत्वमा भएको विरोध कार्यक्रममा दाङको १२ मौजाका गुठि पीडित किसान, राष्ट्रिय भुमि अधिकार मञ्ज दाङ, थारु कल्याणकारिणी सभा दाङ, अखिल नेपाल किसान महासंघ दाङ लगायत समाजिक संघ संस्थाहरुको एक्येवद्धतामा विरोध कार्यक्रम भैरहेको छ । बिरोध कार्यक्रम सुरु हुनु अगाडी पहिलो दिन घोराहीको ट्राफिक चोकबाट सुरु ¥यालीले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा पुगेर प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीमार्फत नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, भुमी व्यवस्था मन्त्रालयलाई ज्ञापनपत्र बुझाईएको थियो । त्यस पश्चात हजारौको उपस्थितिमा घोराहीको सहिद मञ्चमा विरोध सभा गरिएको थियो ।
कार्यक्रम प्रतिनिधी सभा सदस्य मेटमणी चौधरीको विशेष उपस्थितिमा भएको थियो । विरोध सभामा नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले पीडित किसानहरुको पक्षमा आफूहरुको पार्टी रहेको बताउँदै सरकारले सदनमा गुठि बिधेय पेश गरेमा एमालेले साथ दिने बताउनुभयो ।
यसैगरी राष्ट्रिय भुमि अधिकार मञ्ज दाङका अध्यक्ष देउमन दमाईले किसानहरुको माग पुरा नहुँदासम्म भुमि अधिकार मञ्च निरन्तर आन्दोलनमा रहने बताउनुभयो ।
यसैगरी थारु कल्याणकारीणी सभा दाङका अध्यक्ष अशोक चौधरीले किसानहरुको माग जायज भएको र यसको पक्षमा जस्तो सुकै मूल्य चुकाउन परेपनि आफूहरु पछि नहट्ने बताउनुभयो । यसैगरी घोराही बनाऔँ अभियानका संयोजक एवं नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासनले पीडित किसानहरुले उठाएका मागहरु जायज भएकाले तत्काल गुठि बिधेयक सदनमा पेश गरेर किसानहरुलाई न्याय दिनुपर्नेमा जोड दिनुभयो । प्रियासनले जायज मागका लागि सुरु गरिएको आन्दोलनले मूर्तरुप नलिदासम्म आन्दोलन जारी राख्न सुझाब दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले स्वर्गद्वारी गुठीले जमिन पैसा हालेर किनेको भन्दै सर्वाेच्च अदालतबाट तत्कालिन समयमा गलत फैसला भएको भन्दै सरकारले कानुन संसोधन गरेर स्वगद्धारी गुठी पीडित किसानलाई जमिनमाथि मोहियानी हक अधिकार दिनुपर्ने बताउनुभयो । स्वर्गद्धारी गुठीले जमिन पैसा हालेर नकिनेको भन्दै किनेको भए कोसँग किनेको हो, प्रमाण देखाउनुपर्ने भन्दै स्वर्गद्धारी गुठी पीडित किसान माथि अन्याय भएको भन्दै कानुन संसोधन गरेरै मोहियानी हक दिनुपर्ने विषय संसदमा उठाउने बताउनुभयो । दाङको १२ मौजाका गुठि पिडित किसानको हातमा लालपुर्जा दिलाउन आफुप्रतिबद्ध भएर लाग्ने कुरामा प्रतिनिधि सभा सदस्य चौधरीले जोड दिनुभयो । कार्यक्रममा बोल्दै संघर्ष समितिका सहसंयोजक प्रविण चौधरीले आफूहरुको माग पुरा नहुँदासम्म आन्दोलन जारी रहने, पहिलो चरणमा शान्तिपूर्ण हुने, त्यसपछि पनि माग पुरा नभएर नेपाली नागरिकता त्याग्नेसम्मका कार्यक्रम तय गरिने बताउनुभयो ।

यस्तै जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार देखी ११ गतेसम्म जारी रहने गरी २४ घण्टे धर्ना कार्यक्रम सुरु भएको छ । गुठिका नाममा देखिएका, किसानले जोतभोग गर्दै आएका तर मोहि नलागेका जमिन किसानहरुकै नाममा दर्ता गरिनुपर्ने, मोहिका नाममा जग्गा दर्ता गर्दा प्राप्त हुने राजश्वको स्थायी कोष बनाएर प्राप्त आम्दानीले स्वर्गद्वारी आश्रमको व्यवस्थापन गर्नुपर्ने संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनुभयो । सर्वाेच्च अदालतबाट २०६२ चैत्र १४ को फैसला समेत रहेकोले स्वर्गद्वारी गुठि पीडित मोहि किसानहरु विशेष प्रकृतिको निजी गुठी सम्बन्धी व्यवस्था कायम गरी विधेयकमा मोहियानी हक स्थापित गराई जग्गा बाडफाड हुनुपर्नेमा रहेको बताएका छन् । पटक पटक आफ्ना समस्याहरु सरकार र स्वर्गद्वारी आश्रममा राख्दा तथा अहिलेका राजनैतिक पार्टीहरुलाई पहिलेका संझौताहरु स्मरण गराउँदा पनि माग सुनवाई नभएको भन्दै शान्ति पूर्ण आन्दोलनको घोषणा गर्न बाध्य भएको जानकारी दिईएको थियो ।
संघर्ष समितिले आफ्ना मागहरु पुरा गराउनका लागि कि मुक्ति, कि हातमा लालपूर्जा प्राप्तिको अन्तिम लडाई भन्ने मुल उद्देश्यका साथ मंगलबार देखी धर्ना कार्यक्रम सुरु गरेको छ ।

यसैगरी माघ ११ गतेसम्म चौबिस घण्टे धर्ना कार्यक्रमपछि प्रदेश सरकारमा पुगेर पनि धर्ना दिने र त्यसपछि माघ २७ गते सबै गुठिहरुको केन्द्रीयभेला दाङमा आयोजना गर्ने, त्यसपछि चैत्र १ गते दाङ बन्द या काठमाडौं लक्षित कार्यक्रम गरिने संघर्ष समितिका प्रविण चौधरीले जानकारी दिनुभयो । उहाँले यसै अवधिमा तीनदिनसम्म दुईदुई घण्टा राजमार्गमा सुतेर चक्काजाम गर्ने कार्यक्रम पनि रहेको छ ।