गढवा गाउँपालिकाले सुरु गर्यो एकीकृत घुम्ती शिविर

आलोक भावुक
गढवा, फागुन  । गढवा गाउँपालिकाले जनताको सहजताका लागि एकीकृत घुम्ती शिविर सुरु गरेको छ । एकीकृत घुम्ती शिविर बिहीबारदेखि सुरु भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो ।
गाउँपालिकाले पालिकाबासीहरुको सहजताका लागि ल्यावसहितको स्वास्थ्य सेवा, व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र, व्यवसाय नवीकरण, परामर्श सेवा, अपाङ्गता परिचयपत्र वितरणका लागि स्वास्थ्य परिक्षण, जेष्ठ नागरिक परिचय पत्र वितरण, पशुपंक्षी सेवा कृतिम गर्भधान, पशु बन्ध्याकरण, उपचार, कृषि सेवा माटो परिक्षण, बाली उपचार, सामाजिक सुरक्षालगायतका सेवा प्रदान गर्न घुम्ती शिविरआयोजना गरेको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

शिविरबाट आवश्यक कागजात तथा वस्तुभाउको बारेमा गाउँपालिकाबासीलाई जानकारी समेत गराइने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनुभयो । गाउँपालिकाबाट र एकीकृत घुम्ती शिविरबाट प्रवाह हुने सेवाहरुको बारेमा आवश्यक पर्ने कागजातको बारेमा विशेष जानकारी गराउने गरेको अधिकृत शर्माले बताउनुभयो । एकीकृत घुम्ती शिविर गाउँपालिकाको आठ वटा स्थानमा सञ्चालन हुने शिविर तालिका यसभन्दा पहिले नै सार्वजनिक भैसककेको छ ।
फागुन १० गते गढवा गाउँपालिका वडानम्वर २ मा एकीकृत घुम्ती शिविर सञ्चालन भएको छ । एकीकृत शिविरबाट कृषि विकास शाखातर्फ १८ जना कृषकहरुले माटो परिक्षण गराएका थिए । जसमध्ये अधिकांशमा क्षार देखिएको कृषि विकास शाखाका प्रमुख कर्ताराम यादवले जानकारी दिनुभयो ।

त्यसैगरी पञ्जिकरण शाखाबाट ३६ जना सेवाग्राहीले सेवा लिएका छन् भने पशुपंक्षी तथा मत्स्य विकास शाखातर्फ १ सय ७ जनाले पशुपालक किसानले सेवा लिएका छन् । जसमा एक हजार ७५ कुखुराका लागि विभिन्न प्रकारका औषधि वितरण गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत अनन्तराज रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार १ सय ५० बाख्रालाई पिपिआर खोप लगाइएको छ, भने ८ सय ४ बाख्रालाई औषधि उपचार गरिएको छ । त्यसैगरी २ सय २३ गाईभंैसी, २३ बंगुर र २५ कुकुरका लागि औषधि वितरण गरिएको छ ।

त्यसैगरी शिविरमा ७७ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । ७४ जनाको सुगर र पिसाब चेकजाँच गरिएको मध्येबाट ५ जनामा सुगर देखिएको छ भने २४ जनालाई प्रिडाइबिटिक देखिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख द्रौपदा सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार ४५ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

त्यसैगरी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखातर्फ ७ जना अपाङ्गता भएका बिरामीहरूको स्वास्थ्य चेकजाँच गरिएको छ, भने २ जना जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरेको शाखाकी प्रमुख प्रेरणा चन्दले जानकारी दिनुभयो ।