दलहरुद्वारा आन्दोलनमा ऐक्यबद्धता

घोराही फागुन  । निर्णायक आन्दोलन भन्दै घर छोडेर सडकमा बास बसिरहेका स्वर्गद्वारी गुठीपीडित मोही किसानहरुले तेस्रो दिन पनि आफ्नो आन्दोलनलाई जारी राखेका छन् । पूर्वघोषित कार्यक्रमअन्तर्गत फागुण ११ गतेसम्म जिल्ला प्रशासन कार्यालय दाङ अगाडि सडकमा धर्ना बसिरहेका किसानहरु राती परेको असिना र पानीलाई समेत बेवास्ता गरी धर्नामा बसेका थिए । राती पानी र असिना परेपछि केही समय असहज उत्पन्न भएको समयमा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी स्थलमै पुगेर खाद्यान्न, लत्ताकपडा राख्नका लागि चाजोपाजो मिलाउनु भएको थियो ।

घोराहीमा बुधबार राती पानी परेको थियो । तर, केही समयको पानी र असिनापछि पनि चिसोले भिजेको जमीनमा उभिएर रातमा पनि किसानहरुले विभिन्न नारा लगाउँदै धर्ना कार्यक्रम जारी राखेका थिए । यसैगरी धर्ना कार्यक्रमको तेस्रो दिन बिहीबार बिहानैदेखि किसानहरुले पूर्व घोषित कार्यक्रमलाई निरन्तरता दिएका थिए । स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिको आव्हानमा जारी धर्ना कार्यक्रमको तेस्रो दिन बिहीबार किसानहरुले एक घण्टा लगातार आफ्नो मागहरुको सवालमा नारा लगाएका थिए । यसैगरी एकघण्टा सिटी फुकेर आन्दोलन गरेका थिए ।

आन्दोलनकै क्रममा सन्देशमुलक नाटक र कविताहरु पनि बाचन गरिएको थियो ।
यसैगरी बिहीबार नै आन्दोलनमा राजनीतिक दल, नागरिक समाजका विभिन्न अंगहरु र जनप्रतिनिधिहरुले समेत ऐक्यवद्धता जनाएका थिए । ऐक्यवद्धता कार्यक्रममा सहभागी नेता एवं जनप्रतिनिधिहरुले किसानहरुको जायज माग भएकाले तत्काल सदनमा गुठी बिधेयक पेश गरेर कानुन निर्माण गरी किसानहरुलाई मोहियानी हक दिनपर्नेमा जोड दिएका थिए । संघर्ष समितिका संयोजक प्रभु चौधरीको नेतृत्वमा भइरहेको आन्दोलनलाई सफल बनाउन विभिन्न व्यक्तिहरुले धर्नामा बसेका किसानहरुका लागि खानपिनको समेत स्वतस्फूर्त तरिकाले सहयोग गरिरहेका छन् ।

सहयोग गर्ने सबैलाई संघर्ष समितिले धन्यवाद दिएको छ । संघर्ष समितिका सहसंयोजक प्रविण दहितले धर्ना बस्नेक्रममा एक दर्जन जति किसानहरु बिरामी भएको बताउनुभयो । जिल्लामा धर्ना दिने कार्यक्रममा पाँचसय बढि किसानहरुले नियमित धर्ना दिइरहेका छन् । शुक्रबारसम्म चल्ने धर्ना कार्यक्रम पश्चात् किसानहरुको टोली हिँडेरै लुम्बिनी प्रदेश सरकारकोमा पुग्ने र फागुण २० गतेदेखि त्यहाँ धर्नालगायतका आन्दोलनका कार्यक्रमहरु रहेको संघर्ष समितिले जनाएको छ । यसैबीच पूर्वपश्चित राजमार्गमा चक्काजामलगायतका कार्यक्रमहरु पनि गरिनेछ । त्यतिसम्म पनि माग सुनुवाई नभएर चैत्र १ गतेदेखि दाङ बन्द वा काठमाडौँ केन्द्रीत आन्दोलन गरिने संघर्ष समितिले छलफल पश्चात् तय गर्ने जनाएको छ ।

स्वर्गद्धारी गुठिको नाममा ७ सय ३५ विगाहा जमीनमा जिल्लाको १२ मौजामा किसानहरुको मोहीयानी अधिकार छ । जसमा ४ हजार बढि घरपरिवारका १५ हजार बढि संख्या आश्रित छन् । यदि मोहियानी हक प्राप्त नगरेमा किसानहरुले नेपाली नागरिकता समेत त्याग्ने घोषणा गरेका छन् ।