अम्बिकेश्वरी क्याम्पसमा खेल सप्ताह र सरस्वती पूजा कार्यक्रम

घोराही  । घोराहीस्थित अम्बिकेश्वरी कलेजमा आयोजना गरिएको खेल सप्ताहमा बिजयी विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको छ । अम्बिकेश्वरी स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको पुरस्कार वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले अम्बिकेश्वरी क्याम्पसले आइटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरिरहेको बताउँदै खेलको नियम जस्तै कलेजबाट उत्पादित आइटी विद्यार्थीहरुले आफ्नो क्षेत्रमा अनुशासित ढंगबाट भूमिका निर्वाह गर्न सकेमा समाजले आइटी जनशक्तिबाट धेरैलाभ लिने बताएका थिए ।

वक्ताहरुले सूचना र प्रविधिको महत्व बढ्दै गएको र यसको सहभागिता विना समृद्धि र विकास हुन नसक्ने बताएका थिए । मुलुकको समृद्धिका लागि आइटी क्षेत्रको विकास अनिवार्य रहेको बताउँदै वक्ताहरुले समय अनुसार आइटी क्षेत्रलाई राज्यले विशेष महत्व दिनुपर्नेमा जोड दिएका थिए ।

स्वविय सभापति रणबहादुर खड्काको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहागरपालिकाका उपप्रमुख हुमा डिसीले आइटी क्षेत्रको महत्व धेरै भएको बताउनुभयो । विशिष्ठ अतिथि क्याम्पसका प्रमुख चन्द्रप्रकाश खनालले अम्बिकेश्वरी क्याम्पसले दक्ष जनशक्ति उत्पादनमा जोड दिएको बताउँदै कलेजबाट उत्पादित विद्यार्थीहरु विभिन्न क्षेत्रमा आबद्ध भएर सेवा गरिरहेको जानकारी दिनुभयो । विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सूचना र प्रविधिको विकास रहर लाग्दो तवरले भएकाले सबै क्षेत्रलाई आइटीसँग जोड्न सके मात्र मुलुकले समृद्धि र विकासमा गति लिने बताउनुभयो ।

सो अबसरमा नेवि संघ दाङका अध्यक्ष कुलराज पोख्रेल, अनेरास्ववियु दाङका सचिव लक्ष्मण गिरी, अखिल क्रान्तिकारी दाङका अध्यक्ष गिरबहादुर महरा, विप्लव निकट अखिल क्रान्तिकारी दाङका अध्यक्ष खुम रिजाल, शिक्षाबिद् सिताराम केसीलगायतकाले बोल्नु भएको थियो । स्ववियुका उपाध्यक्ष विकास लम्सालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्ववियु कोषाध्यक्ष राजन घर्ती मगरले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीतनृत्य प्रस्तुत गरेका थिए भने विभिन्न खेलमा बिजयी विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।