घोराही फागुण । जिल्ला खेलकुद विकास समिति दाङले बेलझुण्डिमा आयोजना गरेको १४ औँ राष्ट्रपति रनिङ शिल्ड घोराही उपमहानगरपालिकाले जितेको छ । १९ स्वर्ण, ८ रजत र २२ काश्य गरी ४९ पदक प्राप्त गर्दै राष्ट्रपति रनिङ शिल्ड घोराही उपमहानगरपालिकाले जितेको हो ।
घोराही नगर खेलकूद विकास समितिका संयोजक नरेन्द्र पुन, गोरखा उमाविका प्रिन्सीपल मानसिंग घर्तीको नेतृत्वमा बेलझुण्डि पुगेका खेलाडीको टोलीले घोराहीलाई शानदार तवरले राष्ट्रपति रनिङ शिल्ड दिलाएका हुन् । यसैबीच राष्ट्रपति रनिङ शिल्डमा बिजयी र सहभागि खेलाडीहरुलाई शिल्डसहित घोराही नगर प्रमुख नरुलाल चौधरीले मंगलबार पालिकामा विशेष स्वागत गर्नुभएको छ ।
सो अबसरमा चौधरीले विजयी खेलाडी, प्रशिक्षक र नगर खेलकुद विकास समितिका पदाधिकारी र सदस्यहरुलाई टिका र खादा लगाएर सम्मान तथा बधाई ज्ञापन गर्नुभएको थियो । खेलाडीहरुले देखाएको अनुशासन, मेहनत र सफलताले नगरको खेलकुद क्षेत्रलाई थप उचाईमा पुराएको उहाँको भनाई छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, सामाजिक विकास शाखा प्रमुख विनोद गौतम समेतले खेलाडीहरुलाई सम्मान र बधाई ज्ञापन गर्नुभएको थियो । बधाई प्राप्तपछि खेलाडीहरुले बाजा सहित घोराही बजार परिक्रमा गरेर खुसीयाली बाँडेका छन् । प्रतियोगितामा १८ स्वर्णसहित तुलसीपुर उपमहागरपालिका दोस्रो भएको छ । अब छिटैनै प्रदेशस्तरीय प्रतियोगितामा बिजयी खेलाडीहरुको सहभागिता हुनेछ ।
