घोराही मेलामा आएका नायक पल शाहद्वारा मगर सङ्घ भवन निर्माणका लागि ५१ हजार सहयोग

दाङ। चर्चित अभिनेता पल शाहले नेपाल मगर सङ्घको भवन निर्माणका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को सातौँ दिन आफ्नो विशेष प्रस्तुति दिन मेलास्थल आएका नायक शाहले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

नेपाल मगर सङ्घ घोराही नगर समितिका अध्यक्ष नेपाल मगर सङ्घ घोराही नगर अध्यक्ष बेदबहादुर बुढा मगरका अनुसार घोराहीमै निर्माण हुन थालेको सङ्घको भवन निर्माण कार्यलाई सहयोग पुग्ने उद्देश्यले नायक शाहले उक्त रकम प्रदान गरेका हुन् ।

घोराही–२ रामपुरमा जन्मिएका नायक पल शाहले आफ्नै गृहजिल्ला दाङको घोराहीमा निर्माणाधीन सामुदायिक भवनका लागि सहयोग गर्दै जन्मभूमिप्रतिको सामाजिक दायित्व निर्वाह गरेको हुन् । चर्चित कलाकार भएर पनि आफ्नो माटो र समुदायलाई नबिर्सिएको भन्दै जिल्लावासी र दर्शकहरूले शाहको प्रशंसा गरेका छन् ।

माघे मेलाको रंगीन माहोलबीच गरिएको यस सहयोगले मेलालाई थप अर्थपूर्ण बनाएको आयोजकहरूको भनाइ छ। पर्यटन, संस्कृति र स्थानीय पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘माघे मेला–२०८२’ ले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वको सन्देश पनि प्रवाह गरिरहेको छ।