घाेराही माघे मेला–२०८२ छैठौँ दिन शान्तीश्री परियार र हेमन्त शर्माको दमदार प्रस्तुति

घोराही । दाङको घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को छैठौँ दिन आज महोत्सवको मुख्य आकर्षणका रूपमा चर्चित गायक हेमन्त शर्मा र स्टेजकी रानीका रूपमा परिचित शान्तीश्री परियारको विशेष प्रस्तुति रहनेछ।
शान्तीश्री परियारको ऊर्जाशील प्रस्तुति र हेमन्त शर्माका लोकप्रिय गीतले दङाली दर्शकलाई भरपूर मनोरञ्जन दिने अपेक्षा गरिएको छ । यसअघि विभिन्न मेलामा उत्कृष्ट प्रस्तुति दिइसकेका दुवै कलाकारको आजको कार्यक्रम दाङका लागि विशेष हुने आयोजकको विश्वास छ ।
कार्यक्रममा सुल्पा ग्रुपले परिचीत गायिका रुचा मगर, विमला मगर तथा साेनी डान्स ग्रुपको आकर्षक नृत्य प्रस्तुति पनि रहनेछ । उद्घोषण माधव जोन खत्री र रुपा घर्ती मगरले गर्नेछन् ।
मेलामा जिल्लास्तरीय दोहोरी गीत प्रतियोगिता र स्थानीय कलाकारहरूको प्रस्तुति निरन्तर भइरहेको छ । पुस २५ गतेदेखि सुरु भएको मेला माघ १० गतेसम्म सञ्चालन हुने आयोजक नेपाल मगर सङ्घ घाेराही उपमहानगरपालिकाका अध्यक्ष बेदबहादुर बुढामगरले जानकारी दिए ।