घाेराही मेलामा बाह्रौँ दिन प्रताप दास र प्रकाश दुतराजसहित चर्चित कलाकारको प्रस्तुति रहने

दाङ । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को बाह्रौँ दिन आज चर्चित कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुतिसँगै पूर्ण रूपमा सङ्गीतमय बन्ने भएको छ ।

सांस्कृतिक संयोजक गोपाल बुढामगर आज युवापुस्तामाझ लोकप्रिय गायक प्रताप दास, पछिल्लो समय एकपछि अर्को हिट गीत दिइरहेका गायक प्रकाश दुतराज, साथै गायिका कला लम्साल, भिमकुमारी बाठा र गायक राजेन्द्र चौधरीले आफ्ना प्रस्तुतिमार्फत् दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् ।

त्यसैगरी सोनी डान्सग्रुपले आकर्षक नृत्य प्रस्तुत गर्दै मेलाको रौनक थप्नेछ । मेलामा बालबालिका तथा दर्शकका लागि जलपरी र लण्डन ब्रिजजस्ता विशेष संरचना पनि प्रमुख आकर्षणका रूपमा रहेका छन् ।

दैनिक रूपमा विविध सांस्कृतिक, सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुँदै आएको माघे मेलामा आजको कार्यक्रमले दर्शकको उल्लेख्य सहभागिता बढ्ने अपेक्षा आयोजकले गरेका छन् ।