पत्रकारिता अर्थात आवाज हिनको आवाज, पीडितहरुको वकालत गर्ने थलो, सर्वसाधारणलाई न्यायको अनुभूति गराउने माध्यम, पछाडी परेको, पारिएको अनि राज्यको पहुँचबाट निकै टाढा परेको क्षेत्र, समुदाय, वर्गको पक्षमा लेख्ने, बोल्ने, देखाउने ठाउँ । यी र यस्तै अनेक शव्दहरु छन्, पत्रकारिताको वखानमा लेखिनका लागि प्रयोग गरिदै आएका भनाइँहरु ।
पत्रकारिता क्षेत्रलाई राज्य अनि समाजले पनि राज्यको चौथो अंगको दर्जा दिएको छ । नेपाली पत्रकारिताले समग्रतामा नागरिकलाई अधिकार सम्पन्न गराउनका लागि बिगतदेखि अहिलेसम्म महत्वपूर्ण भूमिका खेलि रहेको छ, खेल्नुपर्छ । पत्रकारिता क्षेत्रको समाजसँग जोडेर पछिपछि व्याख्या, विश्लेषण, चर्चापरिचर्चा गर्दै गरौला, विगतका दिनमा गर्दै आइएको छ पनि । यतिबेला म अलि फरक ढंगबाट आफ्नै क्षेत्रभित्र रहेका केही समस्या अनि अफ्ठ्याराहरुको बारेमा चर्चा गर्ने, सुधारको मार्ग प्रशस्त गर्न सकिन्छकि भन्ने अपेक्षाका साथ कलम चलाउन खोजि रहेको छु । कतिपयलाई मेरो लेखाई नपच्न पनि सक्छ, तर जसले जे सोँचोस, पत्रकारिताको धर्म बिकृति, बिसंगति बिरुद्ध आवाज उठाउने हो, चाहे त्यो आफ्नै क्षेत्रमा किन नहोस् ।
म पत्रकारिता प्रवेश गर्दादेखि अहिलेको अवस्थासम्म आइपुग्दा धेरै नै परिवर्तन भएको छ । सुरुका दिनमा मैले पनि आफू काम गर्ने ठाउँमा विभिन्न किसिमका समस्याहरु झेल्नु परेको थियो । तर, स्वभावले म कुनै पनि कुरा मलाई पचेन भने तत्कालै खरो ढंगबाट प्रतिक्रिया दिन अग्रसर हुने भएकाले म माथि हेरिने गलत नजरहरु टाढा नै रहेको आभाष मैले गर्थे । मलाई के थाहा थियो भने म कमजोर बने भने फाइदा उठाउन खप्पिस समूहले मलाई बर्बाद बनाउन सक्छ । हरेक क्षेत्रमा महिलाहरुलाई काम गर्न चुनौती छ । जुन कुरा बेलामौकामा कार्यक्रमहरुमा जाँदा महिलाहरुले भनेको सुन्छु । पत्रकार महिलाकै एक कार्यक्रममा एकजना पत्रकार महिलाले भक्कानिदै आफ्नो पीडाको कथाव्यथा सुनाएकी थिइन् । उनले काम गर्नेक्रममा यतिसम्म टर्चर व्यहोरेकि रहेछिन्कि कुरा गरेरै साध्य छैन । सञ्चालक देखि हाकीम सम्मलाई खुसी बनाउनुपर्ने बाध्यताको कहालि लाग्दो कथा उनले धक नमानेर सुनाइन । उनको कथा सुनेपछि मलाई कार्यथलोमा शतर्क हुन झनै प्रेरित ग¥यो ।
म विगत चारवर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छु । पत्रकारिता क्षेत्रले मलाई छोटो समयमा नै समाजमा स्थापित बनाएको छ । दुईचार जनाले यो फलानो हो भनेर चर्चा परिचर्चा गरेको सुनेको पनि छु । घरमा समेत आमाबाबाले हजुर फलानो पत्रकारको बाबाआमा हुनुहुँदो रहेछ भनेर समाजमा मेरो बारेमा वयान गरिएका कुराहरु घरमा पनि चर्चाको विषय हुने गर्दछ । जबजब म पत्रकारिता क्षेत्रमा लागेर समाजमा पाएको सम्मानलाई सम्झनु ठिक क्षेत्र रोजिएछ भनेर गर्व लाग्छ । सँगसँगै पत्रकारिता क्षेत्रभित्र रहेको विभेदसँग जहिले जहिले मेरो पैठेजोरी हुन्छ, वा सहकर्मि पत्रकार महिलाहरुले विभिन्न गुनासोका पेटाराहरु सार्वजनिक ठाउँमै खोल्ने गर्नु हुन्छ, त्यतिबेला मनमा कताकता निराशाका बादलहरु मडारिन थाल्छ । पत्रकार महिलाहरुलाई बिद्रोहको राँको बाल्न सल्लाह पनि दिन्छु, तर बाध्यता, विवशता अनि पत्रकारिताभित्र पनि पुरुषहरुको हैकमबादले सबैको आवाज दबिए जस्तो महसुस हुन्छ, क्रमशः म भित्र देखा परेको बिद्रोह भाव सेलाउँदै गएको महसुस म स्वयमले गर्दछु । पीडाबोध हुन्छ, छटपटि पनि छुट्छ, तर देश अनि समाजका लागि केही गर्छु भन्ने भाव बोकेर पत्रकारिता क्षेत्रमा समर्पित भएका कारण लैंगिक विभेदको चपेटाभित्र अहिले पनि जकडिएको पत्रकारिता क्षेत्रमा कुनै न कुनै दिन सुधार आउँला, सुधार गर्न सकिएला भन्ने झिनो आशा बोकेर अगाडी बढ्छु ।
यहाँ मैले उठाउन खोजि रहेको विषय अहिले पत्रकारिता क्षेत्रमा देखा परेको जटिल समस्या अनि चुनौती हो । म स्वयमले यस्ता समस्याहरु प्रत्यक्ष आफूलाई असर पुग्ने गरी भोग्नु परेको छैन, तर पत्रकारिता क्षेत्रमा अहिले यी र यस्ता समस्याहरु जटिल बन्दै गएका छन् । यदि समयमा नै यस्ता समस्याहरु निराकरण गर्न सकिएन भने अरुलाई न्याय दिने, पीडितको पक्षमा वकालत गर्ने क्षेत्र नै भविष्यमा न्यायको कठघरामा उभिनैपर्ने अवस्था सिर्जना हुनेछ । पत्रकारिता क्षेत्रभित्र रहेको लैंगिक विभेदलाई नामेट नपार्ने हो भने पत्रकारिता क्षेत्रले समाजको नेतृत्व गर्न पनि सक्दैन । पत्रकारिता सम्मानित पेशा हो । सम्मानित पेशा नै अपमानको तराजुमा उभिने, यहाँ काम गर्ने महिला पत्रकारहरु सहकर्मिबाटै अपहेलित हुनुपर्ने, यौन पिपासुको नजरले सञ्चालकहरु देखि माथिल्लो पदमा बस्नेहरुले समेत व्यवहार गर्ने, सहकर्मिहरु पनि पत्रकार महिलाहरुलाई यौनप्यास मेट्ने कुचेष्टाबाट ग्रस्त हुने अनि पुरुषलाई समान कामको ज्याला बढि दिने, तर महिलालाई कम दिने, आफूले भनेको नभएपछि कामबाट निकाल्ने, अफ्ठेरो कामको जिम्मेवारी पत्रकार महिलालाई दिने, पत्रकार महिलाले जिम्मेवार र महत्वपूर्ण पद सम्हाल्नै सक्दैनन् भनेर अविश्वास गर्नेलगायतका समस्याका चाँगहरु सञ्चार क्षेत्रमा अहिले पनि विद्यमान छन् । यी समस्याहरु सतहमा जटिल नदेखिएपनि पत्रकारिता क्षेत्रमा नै जम्नका लागि पत्रकार महिलाहरुको ठूलो शत्रु अनि बाधक तत्वकारुपमा सुक्ष्म ढंगबाट मन्द विष सरह काम गरिरहेको छ । जसले गर्दा पुरुषहरुको तुलनामा पत्रकार महिलाहरु पत्रकारिताबाट पलायन भैरहेका छन् । एकातिर पत्रकार महिलाहरुलाई पितृसत्तात्मक चिन्तनका कारण पत्रकारितामा नै टिकि रहन समस्या छ, अर्को तर्फ पत्रकारिता क्षेत्रमा नै विकराल बन्न खोजि रहेको यौनपिपासु सोँचले पत्रकार महिलाहरुलाई पेशाबाट पलायन हुनुपर्ने बाध्यता सिर्जना गरिरहेको छ । पत्रकारिता क्षेत्रमा भुसको आगो सरह सल्कि रहेको विभेदलाई निरुत्साहित पार्दै पूर्णरुपले हटाउनका लागि यस विषयमा पत्रकारहरुको हकहितको पक्षमा काम गरिरहेको नेपाल पत्रकार महासंघ अनि यहाँ क्रियाशिल सञ्चार संगठनहरुले पनि अब अभियान नै चलाउन जरुरी छ ।
नेपाली पत्रकारिता क्षेत्र यतिबेला निकै नै चुनौती र समस्याग्रस्त अवस्थामा छ । सञ्चार क्षेत्रहरु टिक्ने हुन कि होइनन् भन्ने अवस्थामा रहेको समयमा यसप्रति समाज उत्तरदायि बनाउनका लागि पत्रकार महिला अनि पुरुषहरुले नै कम्मर कसेर लाग्नुपर्छ । मुलुकको समृद्धि र विकासका लागि जसरी सबैले आफ्नो पौरखा खर्चन जरुरी छ । त्यसैगरी पत्रकारिताको विकासका लागि पनि यसमा जोडिएका सबैले पशिना बगाउनुपर्छ । पत्रकार महिलाहरुको सक्रियता, क्रियाशिलता, समर्पण अनि सहभागिता बिनाको नेपाली सञ्चार क्षेत्रले न आफ्नो क्षेत्रको विकास गर्न सक्छ, न नेपाली समाजलाई सभ्य, समृद्ध, सुशासनसहितको बनाउन सक्छ । तसर्थ राज्यका निकाय अनि सम्बन्धित सञ्चार संगठनहरुले पनि पत्रकार महिलाहरुलाई प्रोत्साहन गर्ने, उत्पादन गर्ने, क्षमता अभिबृद्धिका लागि योजना बनाउने, सेवा सुविधाहरु अधिकारकारुपमा प्रत्यायोजन गर्ने सवालमा विशेषरुपमा ध्यान दिनुपर्छ ।
पत्रकार महिलाहरुले पनि अब आफ्नो क्षेत्रमा संघर्ष, प्रतिष्पर्धा गर्ने, क्षमता विकास गर्ने, दयाको पात्रकारुपमा नभएर अधिकार प्राप्त गरेर आफूलाई स्थापित गर्ने काममा लाग्नुपर्छ । यदि कँही कतै पनि विभेद भएको महसुस हुन्छ भने अब डराएर होइन यसको डटेर सामना गर्ने, आवाज उठाउने काममा स्वयम पत्रकार महिलाहरु पनि लाग्नुपर्छ ।




