नेपालको खेलकुद क्षेत्रमा विभिन्न खेल जस्तै फुटबल, क्रिकेट, बलीवोल, बास्केटबल, टेनिस, टेबल टेनिस, बैडमिन्टन, हाकी, बोक्सिङ, कुश्ती, गोल्फ, स्क्वाश, तिरण्डाजी, तैराकी, जुदो, कराटे आदि खेलकुद खेलिनछन् । यी सबै खेलहरुमा अन्र्तराष्ट्रिय स्तरमा नेपाल धेरै पछाडी छ । यसको कारण हो खेल क्षेत्रको विकासका लागि राज्यले ठोस योजना, नीति, कार्यक्रम अहिलेसम्म बनाउनै सकेको छैन । पछिल्लो समयमा नेपालमा क्रिकेट रहरलाग्दो तवरबाट माथि उक्लिएको छ । त्यो पनि विभिन्न समस्याका कारण अन्य खेल जस्तै पछाडी पर्छ कि भन्ने त्राशहरु देखा परेका छन् । नेपालमा खेलकुद क्षेत्र विकास गर्न सामाजिक, आर्थिक र राजनैतिक रुपमा विशेष योजना र कार्यक्रम ल्याउनुपर्छ ।
नेपाल सरकारले खेलकुद क्षेत्रमा विकासका लागि विभिन्न योजनाहरू बनाउने र क्रिकेट, फुटबल, बास्केटबल, टेनिस, हाकी आदि खेलहरू खेल्ने लागि खेलकुद सुविधाहरू बनाउने काम गरेता पनि यो प्रभावकारीरुपमा देखा परेको र्छैन । नेपाल ऐतिहासिक देश हो । तर खेलकुदको महत्वलाई अहिलेसम्म राज्यले बोध गर्न सकेको छैन । अहिले पनि विश्वका सानासाना विपन्न मुलुकहरु खेलकै माध्यमले धनी राष्ट्रमा दर्ज भएका छन् । नेपालले ठोस योजना बनाउन नसकेकै कारण खेल क्षेत्र पछाडी परेको हो । कुनै पनि क्षेत्रको विकास राज्यले बनाउने योजना, नीति, नियम, कानूनका कारण प्रभावकारी ढंगबाट अगाडी बढ्छ ।
नेपालले पनि तीनै तहको सरकारको माध्यमबाट खेल क्षेत्रको विकासका लागि योजना बनाउन जरुरी छ । यसको लागि खेल शिक्षाको विकास गर्न जरुरी छ । सानै देखि बालबालिकालाई खेल क्षेत्रमै समर्पित हुने गरी राज्यले योजना बनाउन सकेमा नेपालले अबको केही वर्षपछि ठूला प्रतियोगितामा सहभागिता अनि ट्रफि उचाल्ने दिन आउन सक्छ । कुुशल खेलाडीलाई अहिलेको खिचडी शिक्षामा रनभूल्लमा पार्नु भन्दा ऊ कुन खेलमा महारथी हासिल गर्न चान्छ, त्यही किसिमको खेलअभ्यास अनि खेल शिक्षा सानै देखि दिने कार्यक्रम सरकार बनाउन सकेको खण्डमा नेपाल सबै खेलमा अगाडी आउनेछ । यसका साथै राज्यले खेल क्षेत्रको विकासका लागि प्रभावकारी योजना, प्रशस्त बजेट बिनियोजन गर्नतर्फ ध्यान दिनुपर्छ । यसो गरेमा नेपालले खेल क्षेत्रमा राम्रो सम्भावना देखाउनेछ ।
पछिल्लो समयमा गाउँगाउँमा खेलहरु व्यापक हुन थालेका छन् । पालिका देखि वडासम्म खेलहरु भैरहेका छन् । क्लवहरुले समेत गाउँगाउँमा फुटबल लगायतका खेलहरुको आयोजना गरेर खेलको विकासमा टेवा पुराई रहेका छन् । राजनीतिक दलका भातृसंगठनहरुले पनि खेलको आयोजना गरेका छन् । जसले जे गरेपछि अन्तमा प्रभाव पर्ने भनेकोे राज्यको नीति र कार्यक्रमको हो । जबसम्म राज्यले खेल क्षेत्रको विकासका लागि खेल नीति परिवर्तन गर्दैन, अनि खेल शिक्षाको विकास गर्दैन खेलाडीहरु उत्पादन हुने सवालमा धेरै नै समस्या पर्छ । उत्पादित खेलाडीहरुले पनि देशको लागि जीत दर्ज गर्न मुस्किल पर्छ । यस कुरामा राज्यका सबै निकाय र सरकारको ध्यान जानुपर्छ ।
