घोराही । घोराही–१६ सर्रास्थित अम्बिकेश्वरी शिक्षा सदनले बुधबार सरस्वती पूर्जा एवं विद्यालयको २७ औं वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सवका अबसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न खेल तथा शैक्षिक गतिविधिमा उत्कृष्टा हासिल गरेको भन्दै पुरस्कार पनि प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीतनृत्य प्रस्तुत गरेका थिए । यसैगरी विद्यार्थीहरुले बनाएको विज्ञानकला प्रदर्शनी पनि उक्त अबसरमा अवलोकनका लागि राखिएको थियो ।
अभिभावक, अतिथिहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले अम्बिकेश्वरी शिक्षा सदनले स्थापनाकालदेखि नै विद्यार्थीहरुलाई शिक्षासँगै अतिरिक्त क्रियाक्लापमा सहभागि बनाएको र दक्ष जनशक्ति उत्पादन गरिरहेकोमा प्रशंसा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही वडा नम्वर १६ का अध्यक्ष ताराबहादुर डाँगीले शिक्षा क्षेत्रको विकासका लागि आफूहरु योजनाबद्ध तवरले अगाडी बढेको बताउँदै गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको चर्चा गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले समृद्धि र विकासको लहर चलाउनका लागि शिक्षाको विकास अपरिहार्य भएको बताउँदै घोराहीमा अब सुरु हुने भनिएको बुक फ्रिडे कार्यक्रमलाई प्रभावकारी बनाउन आफूहरुले सबै विद्यालयसँग सहकार्य गर्ने बताउनुभयो ।
विद्यालयका शिक्षक दुर्गाप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रिन्सीपल अमृत घर्तीमगरले विद्यालयको गतिविधि र आगामी कार्ययोजनाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सर्रा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष रमेश जिसी, सर्रा टोल विकास संस्थाका अध्यक्ष डम्बर डिसी, सहरी स्वास्थ्य केन्द्रका रामणि शर्मा, समाजसेवी हेमन्त पाण्डे, , अभिभावक बसन्ता शाह, निरु बस्नेतलगायतले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक दिपकजंग घर्तीले गर्नुभएको थियो ।
