दाङ, माघ । घोराहीको निमाहाल रोडमा रात्रिकालीन सांस्कृतिक कार्यक्रम हुने भएको छ। सिद्धार्थ गौतमनगर टोल विकास संस्थाको २६ औँ स्थापना दिवसका अवसरमा यही माघ ६ गते शनिबारका दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिएको टोलका अध्यक्ष चित्रकान्त आचार्यले जानकारी दिनुभएको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १५ को क्षेत्रमा पर्ने सिद्धार्थ गौतम नगर टोल विकास संस्थाले आफ्नो वार्षिक समारोहका अवसरमा रात्रिकालीन व्यावसायिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यका साथ यही माघ ६ गते शनिबारका दिन रात्रिकालिन सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो।
सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूलाई प्राथमिकता दिइनेछ। ती कलाकारहरूले आफ्नो प्रस्तुति दिएर कार्यक्रममा सहभागी दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गर्नेछन् ।
व्यवसायिक गतिविधिलाई क्रियाशील बनाउनका लागि विभिन्न खालका प्रयास थाल्दै आएको टोलले यसपटक रात्रिकालीन व्यवसायलाई प्रोत्साहन गर्नका लागि यस्तो कार्यक्रमको आयोजना गरेको टोलका अध्यक्ष आचार्यले बताउनुभयो। सांस्कृतिक कार्यक्रम आयोजना गरिएको साँझ उक्त टोलका व्यवसायीहरूले विशेष छुटको व्यवस्था गरेको जनाइएको छ।
